स्वयंसेवक शिक्षक नियुक्ति दिने कार्यक्रमविरुद्ध मुद्दा हाल्ने तयारी

8 months ago
स्वयंसेवक शिक्षक नियुक्ति दिने कार्यक्रमविरुद्ध मुद्दा हाल्ने तयारी

सरकारले शुरु गरेको शिक्षण स्वयंसेवक कार्यक्रम ‘अवैध’ भएकाले लागू हुन नदिने भन्दै यसविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको जानकारी एकजना स्थानीय सरकार प्रमुखले दिनुभएको छ ।

‘यो कुन ऐन र नियमको कुन दफाको प्रावधानलाई टेकेर बनाइएको हो ?’ शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालद्वारा आज आयोजित ‘शिक्षण स्वयंसेवकः समस्या कि समाधान’ विषयक अन्तक्र्रियामा बोल्दै नगरपालिका संघका महासचिव एवं नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भीम ढुङ्गानाले भन्नुभयो, ‘स्वयंसेवक शिक्षण कार्यविधिमा हस्ताक्षर गर्नेहरुले यसमा विचार पुर्याउनु पर्दैन ? यस्तो अवैध कार्यविधि स्थानीय तहले मान्नुपर्छ भन्ने छैन । यसका विरुद्ध म मुद्दा हाल्ने तयारीमा छु ।’

उहाँले संविधानको एकल अधिकार रहेको आठौं अनुसूची अनुसार ऐन/नियम बनाएको र शिक्षा मन्त्रालयद्वारा बनाइएको कार्यविधिमा प्रचलित ऐनसँग बाझिए मान्य हुने छैन भनी लेखिनुले यो स्वतः खारेज भएको जिकिर गर्नुभयो । ‘प्रचलित ऐन भनेको के हो ? हामी स्थानीय तह आफैंले बनाएको कानून प्रचलित ऐन होइन ?’ नगरप्रमुख ढुङ्गानाको दाबी छ, ‘हाम्रो प्रचलित कानूनलाई कार्यविधिले चलाउन खोज्यो, त्यसैले यो स्वतः खारेज हुन्छ ।’

संघीयता भन्ने तर केन्द्रबाट स्वयंसेवक शिक्षक नियुक्त गर्ने कार्यविधि ल्याउनुलाई उहाँले कुनै हालतमा स्वीकार गर्न नसकिने बताउनुभयो । नगरप्रमुख ढुङ्गानाले संविधानको अहिलेकै व्यवस्थाभित्र कार्यविधि लागू गरेर देखाउन शिक्षा मन्त्रालयका अधिकारीहरुलाई चुनौती दिनुभयो, ‘विद्यालय शिक्षा कि केन्द्रबाटै हेर्ने भनेर संविधान संशोधन गराउनू, होइन भने अहिलेकै अवस्थामा यो कार्यविधि कसरी गराउनुहुँदो रहेछ ? हेरौंला ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक–विद्यार्थी अनुपात धेरै भएका, अंग्रेजी, गणित र विज्ञान शिक्षक अपुग भएका वा त्यस्ता शिक्षक दरबन्दी नभएका सामुदायिक र प्राविधिक धारका विद्यालयमा स्वयंसेवक शिक्षक खटाउने निर्णय गरेको छ । यसका लागि ‘शिक्षण स्वयंसेवक कार्यविधि २०७६’ बनाएर कार्यक्रम प्रक्रिया अघि बढाइसकेको अवस्था छ ।

Facebook Comments
Share
  • 1
    Share

 

Archives