कालिका सरको चड्कन !

1 year ago
कालिका सरको चड्कन !

संस्कृत मा.वि. रानीपोखरी, काठमाडौँ । २०४१ साल । कक्षा ९ मा पढ्थेँ । ९ मै चाहिँ कति जना थियौँ बिर्सेँ । ८ मा हुँदा ८१ जना थियौँ । प्राय सबै थियौँ होला ९ मा पनि । कोही अनुत्तीर्ण भएको याद छैन ।
९ मा प्रवेश गर्दा साथी जनार्दन घिमिरे प्रथम भएको थियो र म दोस्रो । हाम्रो कक्षा तुलनात्मक रूपमा अलि नेतागिरीवाला कक्षा नै थियो । केही साथीहरू उद्दण्ड स्वभावका थिए । गृहकार्य नगर्ने, अनेक वाहना पार्ने, झगडा गर्ने, कक्षामा शिक्षक शिक्षिकासँगै झगडा गर्न तम्सिने खालका थिए । कतिपय सरमिसले त तिनलाई ठेगान लगाउनुहुन्थ्यो तर कतिपयलाई भने विद्यार्थीले नै हेप्थे । प्रत्येक शिक्षक शिक्षिकाको उपनाम राखेका हुन्थे । कतिपय कमजोर शिक्षकलाई त उसकै उपनाम प्रयोग गरेर सर यसो भनेको के हो ? भनेर सोध्थे । सरलाई थाहा हुन्थ्यो यो उहाँकै उपनाम हो भनेर तर केही प्रतिवाद हुँदैनथ्यो । अहिले सम्झँदा लाग्छ – गुरुकुलको मर्यादा क्षय हुँदै समय अराजकतातिर प्रवेशको चरण थियो होला त्यो ।
त्यही समयका र त्यही कक्षाका साथीहरू अहिले पनि भेट्छु । तिनका अनुहारमा देख्छु त्यही समयको छाया । हल्लावाजहरू थोरै भए पनि प्रभाव तिनैको हुन्थ्यो । गृहकार्य गर्नु र अनुशासित हुनुलाई दास भएजस्तो ठान्थे र पढ्ने खालका विद्यार्थीलाई तिनले हैरान पार्थे । जनार्दन र म खूब मिल्थ्यौँ । कहिलेकाहीँ त हामी नै शिक्षक भएझैँ कक्षा सम्हाल्न खोज्थ्यौँ तर प्रयास सार्थक हुन्नथ्यो । अहिले सम्झँदा लाग्छ – अघिल्लो र पछिल्लो कक्षाको तुलनामा त्यो कक्षा ९ अलि बढी नै छाडा हो ।
सर मिस हैरान भइसक्नुभएको बुझ्न सकिन्थ्यो तर कालिकाप्रसाद तिमल्सिना, अरुण राजभण्डारीलगायत केही सरसँग भने सबै त्रस्त हुन्थे । आवश्यक परे उहाँहरू दुईचार चड्कन कसेरै दिनुहुन्यो । कक्षामा सबै चूप रहन्थे तर नियमित होमवकचाहिँ गर्दैनथे, बाहना पार्थे, छल्थे, के के गर्थे । सरहरू पनि दिक्क मान्नुहुन्थ्यो ।
कालिका सरले भन्नुहुन्थ्यो – जनार्दन र नवराज तिमीहरूमाथि भरोसा छ । यी उद्दण्डका पछि नलाग्नू है । हामी समर्थनको टाउको हल्लाउँथ्यौँ । एउटै घरको माथिल्लो तलामा भानु मा.वि.र तल्लो तलामा संस्कृत मा.वि. थियो । दुई स्कुलको पहिचान प्रस्ट होस् भनेर विद्यालय पोशाक परिवर्तन गरिएको थियो । परिवर्तित पोशाक वहिष्कार गर्नेमा हाम्रै कक्षाका केही थिए । हामी तोकेकै दिन विद्यालयले तोकेकै पोशाकमा आयौँ । कक्षाका उद्दण्डले झण्डै लुगा च्यातिदिएका थिए । सरले तिमीहरूमाथि भरोसा छ भनेपछि उनीहरू स्वतः हाम्रा दुश्मन भए । तिनीहरूमध्ये केहीलाई अचेल पनि कतै कतै भेट्छु । त्यतिखेर खूब रिस उठेको थियो तर अहिले भेटेपिच्छे हृदय रसाएर आउँछ प्रेमले । कस्तो माया लाग्छ । दिलकै टुक्राजस्तो लाग्छ । के हुनेरहेछ कुन्नि ?
जेनतेन कक्षा ९ चलेकै थियो । कालिका सरको पालो थियो । सर के मुडमा हुनुहुन्थ्यो । एकएक गरेर उभ्याउँदै होमवर्क कपी खोज्नुभयो । संयोग त्यसदिन मेलै पनि होमवर्क गरेको थिइनँ । किन गरिनँ, के कारणले गरिनँ, नभ्याएर, नपाएर गरिनँ वा के भन्ने. ? बाहनाबाजी अनेक हुन सक्छ तर मेरो होमवर्क थिएन । होमवर्क नलिई स्कुल गएको सायद् त्यही एक दिन मात्र थियो होला जीवनमा।
कालिका सरले अगाडि उभ्याउनुभयो । दुवै गालामा जोडले एकएक थप्पड दिनुभयो । मेरा दुवै आँखाबाट बरर आँसु खसे । म मौन उभिइरहेँ । त्यस दिन सरले कोर्स पढाउनुभएन । जिन्दगी पढाउनु भयो । भन्नुभयो – तिमीहरूको यो चालाले स्कुलको गरिमा पनि रहन्न, तिमीहरूको भविश्य पनि बन्दैन ।
घन्टी बज्यो । सर निस्कनुभयो । म उभिएको ठाउँबाट बेन्चमा आएँ । सर फेरि फर्केर कक्षामै आउनु भयो र भन्नुभयो नवराज अफिसमा आ ! म लुरुलुरु गएँ । अब सातोपुत्लो गयो । अर्को चड्कनको प्रतीक्षामा थिए मेरा गाला ।
मुटुको चाल बढाउँदै म अफिस कोठामा छिरेँ । अरुण सर पनि त्यहीँ । अरू सर मिसहरू पनि त्यहीँ । झन् डरायो मन । अरुण सरले सोध्नुभयो – के भो नवराज ? मसँग जवाफ थिएन ।
मेरो अनुमानको ठ्याक्कै विपरीत कालिका सरले तानेर दायाँ अँगोलोपट्टि बेर्दै भन्नुभयो – तिमी र जनार्दनले पढाइमा अल्छी गर्नुहुँदैन । होमवर्क गर्न छोड्नु, कक्षामा ध्यान नदिनु भनेको बिग्रँदै जानुको लक्षण हो ।
मैले साहस बटुलेर भनेँ – अरूले दिनका दिन गर्दैनन् । आजै पनि धेरैले गरेनन् । सरले कसैलाई कुट्नुभएन तर मलाई मात्र कुट्नुभयो । यसैमा मात्र दुःख लागेको हो सर ।
सरले अँगालो अलि कसेर भन्नुभयो – तिनीहरू कसै गरे पनि सुध्रिन्नन् । तिनीहरू र तिम्रो तुलना हुन्न । तिनीहरू सुध्रिन्नन् तर तिमी बिग्रन सक्छौ । तिमी नबिग्र भन्नका लागि त्यति गरेको हुँ । राम्रो पढ्ने नवराजलाई त छोडेन कालिका सरले हामीलाई के बाँकी राख्ला र भनेर अरू पनि सच्चिन सक्छन् ।
अरुण सरले पनि हो मा हो मिलाउनु भयो प्रेमले, हार्दिकताले ।
त्यसपछि मैले होमवर्क नगरेको कुनै दिन रहेन । जनार्दन सधैँ प्रथम भइरह्यो र म दोस्रो भइरहेँ । जनार्दन त स्वर्ग जान पनि पहिलो भयो । ऊ आज हामीबीच छैन ।
तर जब जब गुरुपूर्णिमा आउँछ म कलिका सरलाई सम्झन्छु । सर चावहिल चुच्चेपाटी बस्नुहुन्छ । बेलाबेला भेट हुन्छ र कुराकानी हुन्छ । प्रत्येक भेटमा आशीर्वाद पाउँछु । फोनमै पनि कुरा हुन्छ ।
आज पनि समय बेलाबेला कुनै अपरिचित सर भएर आउँछ । अरूलाई सन्तुलनमा राख्न मलाई थप्पड हान्छ । म रन्थनिन्छु र जिन्दगीको होमवर्क गरिरहन्छु तर अफिस कोठामा लगेर प्रेमले सम्झाउने कालिका सर भने कतै भेट्दिनँ । सर तपाईँले भन्नुभएझैँ एक दिन होमवर्क छुट्यो भने बिग्रनसक्छ जिन्दगी । यही सम्झेर निरन्तर छु कर्ममा । लाग्छ – होमवर्कहरूको साझा शृङ्खलाको अर्को नाम जिन्दगी हो ।
सर तपाईँले आशा गरेजस्तो असल विद्यार्थी भएँ÷भइनँ तर कोशिश आज पनि जारी छ, होमवर्क आज पनि जारी छ ।
सुदृढ कर्मका लागि दृढ रहने आशीर्वाद पाऊँ, पाइरहूँ । आज गुरुपूर्णिमा । हार्दिक नमन गुरुवर !

Facebook Comments
Share
  • 398
    Shares

 

Archives