म नआउने भएँ ल !

2 years ago
म नआउने भएँ ल !

– डा. नवराज लम्साल

२०५४ सालदेखिको यात्रामा धेरै वर्ष मधुवन लाइभ सञ्चालन गरेँ । यी यात्रामा धेरै जोडिए, धेरै छुटे र धेरैजना आज पनि उसै गरी सहकार्यमा छन् । २०६१ तिर काठमाडौँ छिरेको एउटा केटोको सुरिलो स्वर छि¥यो एक दिनको लाइभ मधुवनमा । बोलीमा केही हार्दिकता र कवितामा मौलिक छनक । ऊ यसरी नजिक भयो कि थाहै पाइनँ । बिस्तारै ऊसँग सशरीर भेट भयो । भेट घरको भान्सा कोठासम्म पुग्यो । एक दिन उनकी आमा काठमाडौँ आइन् । आफ्नो छोरासँग सँगै खाना खाएको र माया गरेको कुराले उनलाई विशेष पगालेको रहेछ । त्यही केटाले आमालाई सबै कुरा सुनाएछ भन्ने बुझ्न मलाई गाह्रो भएन । उनको झोलामा मकै भटमास रहेछ । खूब आनन्दसँग खाएँ । फर्कने बेला ती बूढी आमाले भनिन् – ‘बाबु ! मेरो छोरो सानै छ । तपार्इँको खूब कुरा गर्छ । माया गर्नुहुन्छ, भन्छ । यो बिग्रिन्छ कि ख्याल गर्दिनुस् है, मैले तपाईँलाई जिम्मा लगाएँ ।’ गहिरो हार्दिकता र भरोसा थियो । आमैले भनिन् – ‘मधुवन सधैँ सुन्छु, रमाइलो लाग्छ ।’ कोही कसैका कारण राम्रो हुने पनि होइन र कसैको कारण नराम्रो हुने पनि होइन । त्यो व्यक्तिमा भर पर्ने कुरा हो तर पनि मैले भनेँ – ‘हस् भइहाल्छ नि !’
बाँकी कुरा भन्नुअघि बीचैमा एउटा अर्को प्रसङ्ग पनि जोडूँजस्तो लाग्यो । एक पटक काभ्रेको बनेपामा जूनकीरी साहित्यिक अभियानले एउटा बृहत् साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो । अतिथिका रूपमा त्यहाँ पुगेको थिएँ । एउटी लुरीलुरी बहिनी कविता पढ्न मञ्चमा गई । मतिर हेर्दै भनी – ‘नवराज दाइकै मधुवन सुनेर कविता लेख्न सिकेकीे हुँ । मेरो कविता छन्दमा छ । यो पञ्चचामर छन्द हो ।’ म तीन कुराले तानिएँ । एक, मधुवन सुनेर सिकेको कुरा, दुई, छन्दको कुरा र तीन, अलि जटिल छन्द पञ्चचामरको प्रयोग । मीठोसँग पढिन् कविता । कविताको भाव पनि सशक्त लाग्यो र छन्द पनि कतै नबिग्रिएको ।
माथि सन्दर्भ उठाएको भाइसँग पनि त्यतिकै सुमधुर सम्बन्ध जारी रह्यो । बाक्लो हुन थाल्यो आवतजावत र सम्पर्क । मेरो कर्ण र धराका धेरै अँश प्रकाशनपूर्व नै उसले धेरै पटक पढेको हुन्थ्यो । कविता किन कविता हुन्छ ? गीत किन गीत हुन्छ ? म किन लेख्छु र कसरी लेख्छु ? मेरो पुस्तकालयमा के कस्ता पुस्तक छन् ? म कस्तो किताब पढ्छु ? आदिआदि कुरा उसको रुचिको विषय हुन्थ्यो । पछि उसले एउटा साहित्यिक संस्था बनायो मधुवनकै नाममा – मधुवन साहित्यिक प्रतिष्ठान । निरन्तर सुन्नुस् सुनाउनुस् कार्यक्रम ग¥यो । कार्यक्रम मार्फत् युवा स्रष्टाहरूले मञ्च पनि पाए र रेडियो नेपालको साथ पनि पाए । त्यो जमातका धेरै जना अहिले स्थापित भएका छन् । कोही स्वदेशमै छन्, कोही विदेशमा । त्यतिखेर मलाई थाहा थियो – यिनीहरूसँग पैसा थिएन तर उत्साह थियो । एक दिन रेडियो नेपालबाट तलब बुझेको दिन सङ्गीतालाई नभनीकन यो समूहलाई दिएँ । त्यै पैसाले विधान बनाए, दर्ता गराए, के के गरे । खल्तीखल्तीको पैसा जोहो गरेर ‘मधुवन’ नामको प्रकाशन पनि सुरु गरे । केही समयसम्म जारी रह्यो । तर यी सबै काम गर्ने केटो एक दिन आफैँ फुत्त कोरिया पुग्यो । त्यो उसको बाध्यता थियो । उसकी एक दिदी, एक बहिनी र एक भाइ । गाउँको बसाइ । उसले भन्थ्यो – ‘छोरालाई पढाउनुपर्छ भन्ने चाहिँ बाआमालाई थाहा थियो तर के पढाउने भन्ने चाहिँ थाहा थिएन ।’ यो कुरा निकै गहिरो लाग्थ्यो । अवसर खोजेर ऊ कोरिया गयो तर त्यहाँ पुगेर पनि उसले कविताको साधना छोडेन । केही समयअघि ऊ देश फर्किएको छ, फेरि सक्रिय भएको छ र साहित्यका लागि केही गर्ने गहिरो उत्साह पनि देखाएको छ ।
मधुवनसँग जोडिएका यी र यस्ता धेरैधेरै भाइबहिनीहरू छन् । ती मध्ये यी दुई जना प्रतिनिधि पात्र हुन् । ती भाइ हुन् – जीवन खत्री र बहिनी हुन् – उर्मिला कोइराला ।
यी दुवै जना नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवबाट पुरस्कृत भएका प्रियकवि हुन् । दुवैजना सरल र शालीन छन् । उनीहरूकै शब्दमा भन्दा दुवै मधुवनका उत्पादन । पुस २१ गते एकै दिन दुवैको पुस्तक विमोचन हुँदैछ । जीवनको पुस्तक काठमाडौँको सर्वनाममा र उर्मिलाको वनेपाको नगरपालिका हलमा ।
दुवैका आयोजकहरूले निम्ता गरेका छन् । विशेष निम्ता । प्रकाशक जूनकीरी साहित्यिक अभियानका तर्फबाट निम्तै गर्न काभ्रेदेखि घायल योद्धा नवराज र रविन विष्ट चिठी बोकेरै काठमाडौँ आए, दुई पटक आए । जीवन निरन्तर सम्पर्कमा छ । दुवै कार्यक्रममा जानैपर्नेछ । सप्रेम जानैपर्छ तर जाने कहाँ, कहाँ नजाने ?
जगदीश घिमिरे दाइको सम्झनामा गत वर्ष रामेछापको मन्थलीमा एउटा भव्य कार्यक्रम भएको थियो । माकादुम हो जीवनको घर । सोधखोज गरेँ । मञ्चमा पनि र मधुवनमा पनि जीवनको कुरा भयो नै । प्रविधिले दिएको सुविधा – उसले मेरो भाषण पनि र रामेछाप विशेष मधुवन पनि कोरियामा बसेर सुनेको रहेछ । कविहरूलाई माया भए पुग्छ, जीवन पग्लिएको अक्षर मेरो इनबक्समा अझै होला । आज ऊ आगोको वर्णमाला लिएर आउँदैछ । उसका अधिकाँश कविता सुनेको छु, पढेको छु । उसका दुई पुस्तक मेरो शिखर टाढा छ ! र जीवन कस्का लागि ? पढेकै हो । उसका कवितामा कोरा वर्णनभन्दा दार्शनिक चेत र भोगाइको कहर भेटिन्छ । वर्णमाला भने पनि यो आगोको मुस्लो नै हो ।
उर्मिलाको गीतिसङ्ग्रह हो – दिलको गजुर । एक सय एक गीतहरू छन् । खारिएका गीतहरू छन् । उनको उज्यालोको आत्मकथा, तेस्रो आँखा, बाढी, जस्तो तिमी र म, पर्ख बाहिर न निस्कजस्ता कविता वर्तमान समयका प्रतिनिधि कविता हुन् । उनी कविता र गीतको दुई सङ्ग्रह सँगै निकाल्ने तयारीमा रहिछिन् । खै कुन्नि कसको सल्लाहमा एउटा मात्र प्रकाशन गर्दा उनले गीत रोजिन् । सायद् २०७६ उनको कवितासङ्ग्रह प्रकाशनको वर्ष हुनेछ ।
गाउँबाट सहर पसेका हरेकको मनमा आफूलाई उठाउने धोको हुन्छ । जो मेहनतको कसीमा खरो उत्रन्छ र कसैको इसारामा नाच्दैन ऊ मात्र उठ्न सक्छ । ‘आफूलाई हेर र आफ्नै बुताले उठ । अन्तर बलियो पार । टेकोले उठेर हुन्न । बाहिरी हल्ला र हाहाहुहु त केवल दुई दिनको मात्र हो । स्रष्टा सिर्जनाले नै बाँच्नुपर्छ ।’ मैले तन्नेरी पुस्तालाई दिने÷दिन सक्ने सुझाब यही हो । सबैलाई यसै भन्थेँ सधैँ ।
तर उर्मिलाको कथा अर्कै रहेछ । एसएलसी सकेपछि उनको बिहे भयो । केही समय अखबारमा काम पनि गरिन् । फिचर लेखनमा उनको विशेष रुचि रहेछ । बिहेपछि अखबार पनि छुट्यो र पढाइ पनि छुट्यो । तर अचम्म १२ वर्षपछि खोलो फर्कन्छ भनेझैँ दुई छोरी स्कुल जाने भएपछि १२ वर्षपछि ११ कक्षाबाट फेरि पढाइ सुरु गरिन् । हाल बीए, बीएल सकेर एमए पढ्दैछिन् । यो कुरा नारी मुक्तिको नाराभन्दा धेरैमाथि छ । उनको यही मेहनत र हिम्मतले म प्रभावित भएको हुँ । यस प्रकारको आँट र लगन धेरैमा सर्नु जरुरी छ । उनी नारी प्रेरणाकी उदारहण हुन् । उनको एक जना भन्दाजुलाई भेटेँ अष्ट्रेलियाको सिड्नीमा । उनको नाम भरत दाहाल । उनी भन्थे – ‘बहिनी सानैदेखि प्रतिभाशाली थिइन् । स्कुलमा सबै प्रतियोगितामा भाग लिन्थिन् । एक दिन कवितामा प्रथम भएर आउँदा घरमा गाली गर्छन् भनेर निधारको अबिर पानीले धोएर पुरस्कार दिँदा कापी बेरेको झल्कने कागज बाटैमा फालेर आइछ तर घर ढिलो आएको भनेर बाले दुई चड्कन दिनुभएछ तर आज उनी राम्रो कवि र गीतकार भइसकेकी छिन् । सम्झँदा गौरव लाग्छ ।’
अन्ततः उर्मिला सुन्दर कविता र गीत सहित नेपाली साहित्यिक दुनियाँमा छिन् । उनकै तहबाट हेर्दा यो उनको ठूलो सफलता हो ।
अन्ततः पुस २१ यी दुवैको पुस्तक विमोचनको दिन । तर मेरो दुर्भाग्य यी दुवैको पुस्तक विमोचनमा म नजाने भएँ ।
केही दिनदेखि म स्वास्थ्य लाभ गरिरहेको छु । मेरो पित्तथैलीमा इन्फेक्सन भएको छ । त्यहाँ पीप छ, सुन्निएको छ र पत्थरी पनि छ । औषधी खाएर पीप सुकेपछि र सुन्निएको निको भएपछि सानो अपे्रसन गर्नुछ । आराम गर्दै छु र अब छिटै अप्रेसनको पनि तयारी गर्दैछु । क्षमा गर प्रिय जीवन, प्रिय उर्मिला म तिमी दुवैको कार्यक्रममा आउन सकिनँ तर ती दुवै पुस्तकमा केके छन् ? कस्ता छन् र तिनको योगदान के हुनेछ भन्ने मलाई थाहा छ । तिमीहरू दुवैजना यो समयका सुन्दर कवि हौ । फुर्केनौ र चिया गफ र बदाम बयानबाट मुक्त भएर हिजोजस्तै साधना र सक्रियतालाई मात्र अर्जुनदृष्टि बनायौ भने दुवै जनाको नाममाथि भोलि माटोले गौरव गर्नेछ तर कोट कुममा झुन्ड्याएर अग्रज हुँ भन्ने तथाकथितहरूसँग जोगिनू । संवेदनाहीन झुण्डले साहित्यिक संसार थिचेको देश हो यो । कमजोर र ईष्र्यापूर्ण अग्रज पुस्ताको सेपमा परेको छ आजको तन्नेरी पुस्ता । तिमीहरू सीपले, सिर्जनाले र सक्रियताले आफू आफैँ हुन सिक । दह्रो गोडाले मात्रै कडा चट्टान टेकेर अग्लो शिखर चुम्न सक्छ । अग्रज नामका मुसतन्डहरू तिमीहरूजस्ताको प्रगति देखिसहन्नन् । तिमीहरुले भन्दा मैले बढी चिनेको छु तिनलाई । उत्साही बन र उत्साहमा देश लेखेर काव्यलाई काव्यकै मूल्यमा सुरक्षित राख्ने कोशिश गर । भ्रमहरू एक दिन च्यातिने छन् र सत्य उद्घाटित हुनेछ । त्यही उद्घाटनको उज्यालोमा म तिमीहरूलाई देख्न चाहन्छु ।
यस समयका सुन्दर स्रष्टाका सुन्दर सपना अङ्कित सुन्दर पुस्तकको विमोचन कार्यक्रम भव्य, सभ्य, उत्कृष्ट र सुन्दर बनोस् ! दुवै स्रष्टालाई हार्दिक शुभकामना !

…………………………………….

[ डा. नवराज लम्साल युवा पुस्ताका प्रेरणा हुन् । २५ वर्षदेखि रेडियोमा सुनिएको र ३५ वर्षदेखि साहित्यमा पढिँदै आएको यो नाम युवाहरू बीच लोकप्रिय पनि छ र धरा, कर्णजस्ता महाकाव्यसँगै सादर उभिएको पनि छ ।
उनका गीत र कविताका ७ पुस्तक प्रकाशित छन् । २२ वर्षदेखि रेडियो नेपालबाट प्रसारित मधुवन धेरैका लागि प्रेरणा बनेको छ । प्रसिद्ध समालोचक महेश पौडेलका अनुसार मधुवन कविताको विश्वविद्यालय हो । ]

Facebook Comments
Share
  • 736
    Shares

 

Archives